कार्तिक १३, पाल्पा ।
नेपालीहरुको दोश्रो महान् पर्व तिहारका लागि पाल्पामा झिनिया रोटी बनाउनेहरुलाई भ्याईनभ्याई छ । तिहारमा यो रोटी अत्यधिक प्रयोग हुने भएकाले पनि बनाउने र बिक्री गर्नेहरूलाई फुर्सद नै नभएको स्थानीय महिलाहरु बताउछन ।
झिनियाँ रोटी चामलको मिसिनो पिठोबाट थरीका रंगहरु मिसाएर फलामको साँचोबाट एक/एक गरी यो रोटी बनाएर सुकाइन्छ । सुकाएपछि अहिले ८० रुपैयाँदेखि ८ सय रुपैयाँसम्ममा १२ पिसको बिक्री हुने गरेको छ ।
बिशेषगरी पाल्पाको तानसेन, रामपुर, कसेनी, पोखराथोक, निस्दीको गल्धाका साथै पूर्वखोलाको बीरकोट, रम्भाको ताहुँ, हुमीन लगायतका स्थानका सयौ महिलाहरुले झिनियाँ रोटी बनाएर गुजारा चलाएका छन्।
बिक्रीका लागि बजारको कुनै समस्या नभएकाले पनि यो रोटी बनाउने महिलाको संख्या हरेक वर्ष बढ्दै गइरहेको छ ।
झिनिया रोटी सुख्खा हुने र लामो समय राख्न सकिने भएकाले गुल्मी, बुटवल, भैरहवा, काठमाडौंबाट माग आउने गरेको छ भने पाल्पामा उत्पादन भएको झिनियाँ रोटी बुटवल, नेपालगञ्ज, भैरहवा, नवलपरासी, पोखरा, काठमाडौं, नारायणगढलगायतका स्थानमा पुग्ने गर्छ ।
महिलाको आम्दानीको बलियो स्रोत बन्दै गएको झिनियाँ रोटी पाल्पाबाट मात्र ३ करोड रुपैयाँभन्दा बढीको व्यापार हुने गरेको दाबी गरे पनि यकिन तथ्यांक भने छैन । प्रति रोटी ६० देखि ३ सय ५० रुपैंया सम्ममा विक्री हुने गरेको छ ।
विगतमा नेवारी समुदायमा बढी चलन चल्तीमा रहे पनि आजकल अन्य समुदायको पनि झिनियाँ रोटी अनिवार्य परिकार बनेको छ। पकाउन सजिलो तथा खान मिठो भएकोले पनि झिनियाँ रोटीको लोकप्रियता बढ्दै गएको छ।