गुल्मी। गुल्मीमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रथम लाखे महोत्सव तथा प्रतियोगितामा बुटवल ११ देबिनगरको समुहले प्रथम स्थान हासिल गरेको छ।
रुरुक्षेत्र गाउँपालिकाको मुख्य प्रायोजन तथा नेवाः देय दबु गुल्मीको आयोजनामा गाउँपालिकाको खेलमैदान घिउँबेशीमा सम्पन्न उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न ६ जिल्लाका २१ वटा समुहले सहभागिता जनाएका थिए।
प्रथम हुदै बुटवलको समुह नगद रु.५० हजार १ रुपैयाँ प्रमाणपत्र र मायाको चिनोबाट पुरस्कृत भएको छ भने टक्सार काल भैरव लाखे नृत्य तानेसन पाल्पा द्धितिय र नेवाः जातिय भाषा पुच रुरुक्षेत्र १रिडी तृतिय भएका छन ।
द्धितियले नगद रु. ३५ हजार १ रुपैयाँ र तृतियले नगद रु. २० हजार १ रुपैयाँ सहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्न सफल भएका छन् ।
प्रतियोगितामा सहभागी सम्पूर्ण लाखे समूहहरूलाई नेवा: देय् दबु गुल्मी बलेटक्सार द्वारा नेवारी परम्परा अनुसार सगुन खुवाई स्वागत गरिएको थियो।
रुरुक्षेत्र गाउँपालिका काे कार्यालय देखि सामूहिक झांकी निकाली बलेटक्सार बजार, बलेचौर र रानीबास परिक्रमा गरी रुरुक्षेत्र गाउँपालिकाकाे नवनिर्मित भवन घिउँबेशी खेलमैदानमा पुर्याइ झाँकी सम्पन्न भएको थियो।
प्रतियोगितामा आयोजक नेवा देय् दबु गुल्मी बलेटक्सारकाे झिंगु नेवा पुच,बलेचौर तथा रानीबासको नेवा:पुच र टाहाटिमकाे नेवा: खलले भने प्रतियोगितामा सहभागी भएनन्, उनिहरुले आफुहरुको संयुक्त लाखे नाच, चरा नाच र घोडा नाच लगायत विभिन्न झाकी भने प्रस्तुत गरेका थिए।
प्रतियोगितामा विजेता एवं सहभागी समुहलाई रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली,लुम्बिनी प्रदेश पुर्व सांसद कमलराज श्रेष्ठ, नेवाः दयदबू केन्द्रीय सदस्य लोकहरी श्रेष्ठ, नेवा देय दबू प्रदेश अध्यक्ष विजुला जोशी लगायतले पुरस्कार प्रदान गरेका थिए ।