साबित्रा पौडेल, बैशाख १४, गुल्मी ।
गुल्मीको मिनामकोटको अग्नी पीडित घरपरिवारलाई रुरुक्षेत्र गाउँपालिकाले नगद, लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ धोबिघाटमा आगलागी हुदाँ केही दिन अगाडि स्थानीय मुक्त बहादुर सारुको घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।
घरबारबिहिन हुनुभएका उहाँलाई गाउँपालिकाले तत्कालका लागी नगद, खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो ।
गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, वडा नं ५ बम्घाका वडाध्यक्ष हरिप्रसाद ज्ञवाली लगायतको टोलिले उहाँलाई तत्कालको लागि नगद २० हजार, खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ ।
सहयोग हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले मौसमजन्य विपत अन्तर्गत घर पुनः निर्माणको लागि संघ , प्रदेश र स्थानीय सरकारको साझेदारीमा आवश्यक प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
उहाँले गाउँपालिकावासी सम्पुर्णमा विपतबाट क्षति भएको विवरण आफ्नो वडा कार्यालयमा जानकारी गराइ विवरण संकलन गर्ने कार्यमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेले एकद्वार प्रणालीबाट राहत सामग्रीको लागी विभिन्न संघसंस्था सँग समन्वय गरिरहेको जानकारी गराउनुभयो ।