

साबित्रा पौडेल, माघ १० गुल्मी।
गुल्मीमा यही माघ २२ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ।
नेपालमा हरेक दिन चारजना महिलाहरूको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुन्छ भने तथ्याङ्क रहेको छ।
किशोर अवस्थामै पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाए पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २२ गतेदेखि देशव्यापी रूपमा एचपीभी खोप अभियान सञ्चालन गर्दैछ।
देशव्यापी रुपमा सञ्चालन गर्ने एचपीभी खोप अभियान २०८१ का लागि देशका केही जिल्लामा खोप लगाउन योग्य छात्राको संख्या निर्धारण भइसकेको छ भने केही जिल्लामा खोप दिने स्वास्थ्यकर्मीलाई प्रशिक्षण कार्यक्रम भइरहेको छ ।
अभियान अन्तर्गत गुल्मीमा सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय बाहिर रहेका ११ हजार २ सय ८८ जना किशोरीलाई खोप लगाइने भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका अनुसार खोप लगाउनका लागि १८६ जना स्वास्थ्यकर्मी तथा ३ सय ७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरिनेछ।
खोप अभियान अन्तर्गत विद्यालय जाने कक्षा ६ देखि कक्षा १० सम्मका सबै छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिइनेछ।
खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, रिँगटा लाग्ने समस्या देखिन सक्छ । तर, यस प्रकारका प्रतिकूल असरहरू थोरै समयसम्म रहने र प्रायः गरेर आफैँ ठिक हुने छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले जानकारी दिनुभयो ।
एचपीभी खोप लक्षित उमेर समूह बाहेक अन्य व्यक्तिले लगाउन नहुने उहाँले बताउनुभयो।
एचपीभी खोपका विषयमा विभिन्न खालका भ्रमहरू फैलिइरहदाँ यो खोप ढुक्क भएर लगाउन जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले अनुरोध समेत छ।