
सुदर्शन पन्थ, वैशाख ९ गुल्मी।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले गोरु पालक कृषकहरुलाई अनुदान दिने भएको छ।
गाउँपालिकाको आ.व. ०८१।०८२ को वार्षिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिकामा रहेका खेतीयोग्य जग्गा, बाँझो जग्गा तथा भिरालो जग्गामा गोरु मार्फत खेतीपाती गर्ने तथा प्राङ्गारिक मल समेत उत्पादन गर्ने उद्देश्यले गोरु पालक कृषकहरुलाई अनुदान दिने कार्यक्रम रहेकोले १५ दिन भित्र आ-आफ्नो वडा कार्यालय तथा गाउँपालिकाको कार्यालयको कृषि शाखामा निवेदन पेश गर्न गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आग्रह गर्नुभएको छ।
अनुदान प्राप्त गर्नको लागि निवेदन, निवेदकको नागरिकताको फोटोकपी, कृषक समूह तथा फर्मको हकमा दर्ता प्रमाण पत्रको फोटोकपी, वडा कार्यालयको सिफारिस भकारोमा गोरु देखिने गरी आफ्नो फोटो एक प्रति आवश्यक पर्नेछ।
साथै गोरुको लागि अनुदान लिने कृषकले कम्तिमा २ वर्ष सम्म गोरु पालन गरेको हुनुपर्ने र अनुदान प्राप्त गरेको गोरु बेच विखन गरेको पाईएमा अनुदान लिएको रकम फिर्ता गर्नुपर्नेछ ।
थप जानकारीको लागि गाउँपालिकाको कृषि शाखामा सम्पर्क गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भयो।
