गुल्मीमा आगलागीबाट ८९ घरगोठ र ७५ पशु चौपाया जले

बैशाख ९ , गुल्मी । गुल्मीमा हावाहुरीसहित भएको आगलागीबाट ८९ वटा घरगोठ जलेका छन्। शनिबार जिल्लाका विभिन्न सामुदायिक,व्यक्तिगत र सरकारी वनमा आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति भएको छैन। तर, करोडौंको सम्पति क्षति भएको छ। इस्मा गाउँपालिका-२ सिदुङखा र हाडीखोलामा १७ वटा घर र १९ वटा गोठ पूर्ण रुपमा क्षति भएका छन्। 

सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित मुर्किना, कोटकोटेरी र हुलमा १० वटा घर पूर्ण जलेका छन् भने १६ वटा गोठमा पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गुल्मीदरबार गाउँपालिका-६ भलायचौर एक घर जलेर पूर्ण क्षति भएको छ। मुसिकोट नगरपालिका-५ आँपचौर र अर्लाङ्कोटमा ८ घरगोठ जलेका छन्। जसमा आगोमा परेर २ वटा भैँसी घाइते भएका छन्। 

हावाहुरी सहितको आगोले मालिका गाउँपालिका ग्लाचौरमा २ वटा गोठ, मदाने गाउँपालिका-१ घडेरीमा १० वटा घर र गोठमा पूर्ण क्षति पुर्‍याएको छ। गर्मीयाम भएकाले आगो नियन्त्रण थप समस्या देखिएको थियो। छत्रकोट गाउँपालिका-१ हुगामा २ वटा गोठ, रुरु गाउँपालिका-१ भटकुवामा २ खाली घर जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए। 

धुर्कोट गाउँपालिका-६ करमचाल्नेमा १ घर जलेको छ भने सोही गाउँपालिका-४ रातापोखरामा एउटा खाली गोठ पूर्ण क्षति भएको छ। आगलागीमा परेर पूर्ण क्षति भएका घर र गोठ केही खाली थिए भने केहीमा मानिस बसोबास गर्दै आएका थिए। 

घरगोठ जलेपछि स्थानीय बासिन्दा खुला आकाशमुनि बस्न बाध्य छन्। आगोमा परेर ज्यान गुमाएका पशुचौपायाको समेत व्यवस्थापन हुन सकेको छैन। आगलागीले गाउँबस्तीमा पुगेका खानेपानीका पाइप जलेका छन्। आगलागीका कारण गुल्मी गाउँपालिका–२ मा खानेपानीको पाइप पनि जलेको छ। त्यसैले अहिले बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले बताएका छन्। जिल्लाभर एउटा ट्याक्टर, दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल, एउटा मन्दिर समेत जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रमुख जिल्ला जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा,तीनवटा सुरक्षा निकाय,गुल्मी उद्योग वाणिज्य संघ लगायतको सरकारी टोलीले आगलागी भएको स्थानमा राहत पुर्‍याएका छन्। गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएका छ। 

आगलागीले ठूलो क्षति पुर्‍याएपछि आइतबार बसेको इस्मा गाउँकार्यपालिकाको बैठक गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीबाट मासिक तलबको ५ प्रतिशत रकम आगलागी राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *