रमेश विश्वकर्मा, फागुन ९ गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सहकारी संस्थालाई नियमन गर्ने भएको छ । गाउँपालिकाले उदेश्य विपरीत सञ्चालित र लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाहरुलाई नियमन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
गाउँपालिकाका सहकारी रजिस्ट्रारसमेत रहनुभएका पाण्डेका अनुसार सहकारी संस्थाहरुको लगातार दुई आर्थिक वर्षसम्म कुनै कारोबार नगरी निस्क्रिय रहेको र विनियममा उल्लिखित उद्देश्यविपरीत कार्य गरेका सहकारी संस्थाहरुलाई नियमन गर्न लागिएको हो ।
रुरुक्षेत्र गाउँपालिकाको सहकारी ऐन, २०७४ को दफा ६६ बमोजिम संस्था विघटन र दर्ता खारेजीका लागि आवश्यक प्रक्रिया सुरु गरी एक हप्ताको समय दिइएको उहाँले बताउनुभयो ।
तोकिएको समय सीमाभित्र मापदण्डहरु पालना नगरेका त्यस्ता सहकारी संस्थाहरु खारेज गर्न इच्छुक भएकालाई खारेज गर्नको लागि गाउँपालिकाले आह्वान गरेको बताउनुभयो ।
एक हप्ताभित्र सहकारी संस्थाहरुले आवश्यक प्रक्रिया थालनी नगरेमा गाउँपालिकाले सहकारी संस्था खारेजी वा मर्जका लागि आवश्यक निर्णय गर्ने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो । यस रुरुक्षेत्र गाउँपालिकामा हालसम्म ३७ वटा सहकारी संस्था दर्ता भएका छन् ।