युवाको भविष्य हाम्रो मूख्य सरोकार हो, क्षणिक परिचालनको विकृतिदखि सचेत बनौँ- उमेद्वार पाण्डे

रेडियो श्रृङ्गेश्वर कात्तिक २६ /  नेकपा एमाले प्रदेशसभा गुल्मीका उमेद्वार फर्सुराम पाण्डेले युवाको भविष्य आफ्नो मूख्य सरोकार भएको बताउनुभएको छ ।

युवाहरुलाई भविष्यको ग्यारेण्टी चाहिएको भन्दै त्यसको जिम्मेवारी लिन आफ्नो पार्टी र त्यसको उमेद्धवारका हैसियतले आफू पूर्णतयारीका साथ लागेको उहाँको भनाई छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा आज गुल्मीदरबार गाउँपालिका लगायतका विभिन्न ठाउँहरुमा भएका अनौपचारिक भेलालाई संबोधन गर्दै पाण्डेले युवा परिचालनका नाममा हुने क्षणिक जमघट र रमाइलोले युवाको अपमान हुने धारणा राख्नुभयो ।

निर्वाचनमा मात्र युवाहरुलाई प्रलोभन र आश्वासनका आधारमा परिचालन गर्ने तत्वहरुसँग अहिलेका युवा सचेत रहेको र त्यसमा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थप सक्रिय भएर लाग्ने उहाँले उद्घोष गर्नुभयो ।

 

गुल्मी क्षेत्र नं १ ख बाट सभाका उम्मेदवार रहेका पाण्डेले बसाईसराई समस्या समाधान गर्न र गुल्मीको युवा पलायन समस्या रोक्न अव गाउँघरमा साना तथा घरेलु उद्योग सञ्चालन गर्न गर्ने र युवालाई गाउँमै रोजगारी संग जोड्ने प्रतिवद्धता जनाउनु भयो ।

 

चुनावीअभियानमा आमनागरिकबाट अभूतपूर्व समर्थन रहेको भन्दै उत्साहित देखिएका उहाँले एजेण्डा र आफ्ना प्रतिबद्धतालाई सचेत मतदाताले अनुमोदन गर्नेमा आफु विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस