उदयपुरमा भेटियो दुर्लभ अजिंगर

उदयपुर । उदयपुरमा एक दुर्लभ अजिंगर फेला परेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरमा सो अजिंगर फेला परेको हो । सगरमाथा सामुदायिक वन उपभोक्ता समूह सुन्दरपुरमा फेला परेको उक्त अजिंगरले वनमा चराउन लगिएको अन्दाजी आठ किलोको जिउँदो बोका सग्लै खाएर निलेको प्रत्यक्षदर्शी खेमराज धमलाले बताए । ‘सामुदायिक वन क्षेत्रमा स्थानीय किसान कृष्ण दाहालले चराउन लगेको बोका सग्लै निलेको देखियो,’ उनले भने, ‘अजिंगरले सग्लै बाख्रा, खसी खान्छ भन्ने सुनेका थियौँ, यसपालि देखियो ।’

धमलाले वनमा चराउन लगेको बोका सग्लै निलेको देखेपछि प्रहरीलाई खबर गरेको बताए । उद्धारको लागि प्रहरीसँगै पुगेका सब डिभिजन वन कार्यालय सुन्दरपुरका सुविदार विनोद भुजेलले आफूले पनि जीवनमा सबैभन्दा ठूलो अजिंगर देखेको बताए । ‘झन्डै चार मिटर लामो, खाएको बोकासहितको तौल २६ किलोजति हुँदो हो,’ उनले भने, ‘हामी बोरामा लगाएर उद्धार गरी अहिले सब डिभिजन वन कार्यालयमै राखेका छौँ । सुरक्षित स्थानमा छोड्ने तयारी छ ।’
वन डिभिजन कार्यालय गाईघाटका प्रमुख अम्बिकाप्रसाद पौडेलले चुरे क्षेत्रमा पहिलो दुर्लभ अजिंगर फेला परेको बताए । उनले भने, ‘अजिंगरले बोका खाइदिएपछि स्थानीयले मार्न खोजेकाले प्रहरी र वनका कर्मचारीले उद्धार गरेका छन् । अब यसलाई सुरक्षित वन क्षेत्रमा छोड्ने तयारी गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस