छत्रकोटको नीती तथा कार्यक्रममा शिक्षा: छात्रवृत्तिको दायरा विस्तार, शिक्षकले सन्तोषजनक नतिजा नदिए र राजनीतीमा सक्रिय भएमा कारबाही

छत्रकोट गाउँपालिका गुल्मीले संघ तथा प्रदेश सरकारबाट छात्रवृत्ति पाउन नसकेका अन्य वर्गका बालबालिकाहरुका लागि पालिकास्तरीय छात्रवृत्ति उपलब्ध गराउने भएको छ । यससँगै विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्तिको दायरा विस्तार हुने भएको छ ।

मंगलबार सार्वजनिक अगामी आर्थिक वर्ष २०७९ /०८० को वार्षिक नीती तथा कार्यक्रमअनुसार छात्रवृत्ति वितरणमा एकद्धार प्रणाली लागु गर्न खोजेको देखिन्छ । नीती तथा कार्यक्रम प्रस्तुत गर्दै छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले विद्यालय जाने उमेरसमूहका कोही बालबालिका विद्यालय शिक्षाबाट वन्चित नहुनेगरी प्रभावकारी अभियान संचालन गरिने उल्लेख गर्नुभयो ।

विज्ञान, गणित र अंग्रेजी जस्ता विषयमा अतिरिक्त कक्षा संचालन गर्न पालिकाले विद्यालयलाई सहयोग गर्नुका साथै शैक्षिक गुणस्तर वृद्धि गर्न अनुगमन, मूल्याङ्कन र पृष्ठपोषणलाई थप प्रभावकारी बनाइने नीती तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाको वडा नं ०५ मानकोटमा रहेको आत्मबोध मा. विको गुणस्तर वृद्धिका लागि विशेष पहल गरिने भएको छ । प्राविधिक धार संचालित उक्त विद्यालय अध्यक्ष पाण्डेयले समेत अध्ययन गरेको विद्यालय हो । यता,वडा नं ०४ दिगामको आदर्श बहुमुखी क्याम्पसको पठनपाठन व्यवस्थित बनाउने विषयले पनि प्राथमिकता पाएको छ ।

पालिकाभित्र पूर्वाधारमा पछि परेका विद्यालयको पूर्वाधार निर्माणलाई नीती तथा कार्यक्रममा महत्वका साथ समेटिएको छ ।यसैगरी गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा इन्टरनेट, फोटोकपी मेसिन र कम्प्युटरको व्यवस्थापन गरिने भएको छ ।

सन्तोषजनक नतिजा नदिए र राजनीती गरे शिक्षकमाथि कारबाही

छत्रकोट गाउँपालिका भित्रका शिक्षकहरुले लगातार तीन वर्ष ५० प्रतिशत नतिजा दिन नसके कारबाहीमा पर्ने भएका छन् । त्यस्तै अनुचित तथा अवान्छित तवरले राजनीतीमा संलग्न भई आफ्नो जिम्मेवारी पुरा नगर्ने शिक्षकमाथि पनि कारबाही हुनेछ । नीती तथा कार्यक्रममार्फत उत्कृष्ट काम गर्ने शिक्षक तथा विद्यालयको मनोवल उच्च राख्न सम्मान तथा पुरस्कारको व्यवस्था पनि गरिएको छ । शिक्षकको राजनैतिक संलग्नता र सक्रियताको कारण पठनपाठनमा प्रत्यक्ष असर परिरहेको भन्दै सरोकारवालाहरुले यसलाई राष्टिय समस्याका रुपमा लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस