बाधक व्यवस्था कि नियती ?

सरस्वती पाण्डे

ऊ बेलामा मल्लिकले दोषी ठानेकालाई

जनताका छातीमाथि गोली हानेकालाई
के पायौ र त्यतिबेला छाड्यौ नेताहरु

फेरी तीनै हली बने हामी बन्यौँ गोरु
हामी बन्यौँ गोरु

सर्जक भगवान भण्डारीले आजभन्दा करिब पन्ध्र वर्ष अगाडि रेकर्ड गराएको गीतको अंश हो यो, जुन बेला नेपालमा भर्खर शाहवंशीय शासनसत्ता अन्त्य भई लोकतन्त्र स्थापित हुँदै थियो । जनमानसमा मानवअधिकार, राजनैतीक चेतना, समावेशीता, लगायत सुशासन र समृद्धिका थुप्रै आकांक्षा विकसित हुँदै थिए । दश वर्ष लामो सशस्त्र संघर्ष गरेको तत्कालीन माओवादी र मुख्य दलहरुको संयुक्त आन्दोलन नै त्यसको मुख्य कारक थियो ।

तत्पश्चात् बृहत् शान्ति सम्झौता अन्तरिम संविधान, संविधानसभा हुँदै २०६५ जेठ १५ मा नेपाललाई वैधानिक रुपमा गणतान्त्रिक मुलुक घोषणा गरियो । करिब साढे दुई सय वर्षे राजकीय विरासत बोकेको राजतन्त्रलाई गणतान्त्रिक शासन व्यवस्थाले प्रतिस्थापन त गर्यो तर व्यवस्था कार्यान्वयनको शुरुवाती अभ्यास नै अपेक्षित रुपमा अगाडि बढ्न सकेन ।

संविधान निर्माणको मूलभुत उद्धेश्य राखेर गठन भएको संविधान सभाले संविधान नै बनाउन नसकी विघटन भई पुन ताजा जनादेशमा जानुपर्ने अवस्था, सामाजिक, सांस्कृतिक, क्षेत्रीय तथा जातीय असहिष्णुता र घरेलु राजनीतीक प्रतिशोध र बाह्य दवावका कारण उत्पन्न विविध घटनाक्रमले आमनागरिकमा व्यापक नैराश्यता पैदा गरिदियो ।

थुप्रै प्रश्न र सन्देहहरुसँगै थोरै आशासहित भएको अर्को संविधानसभा निवार्चनमार्फत गठन भएको संविधानसभाले नयाँ संविधान त दियो तर असन्तुष्टिको स्वर मथ्थर भएपनि निमिट्यान्न हुन चाहिँ सकेन ।

बरु यसैलाई कारण बनाएर मुलुकलाई दक्षिणी छिमेकीले महिनौँसम्म अघोषित नाकाबन्दी गरिदियो । विस्तारै लयमा फर्किन थालेको देशमा फेरी संविधान कार्यान्वयनको मुख्य कडीका रुपमा रहेको तीनै तहको निर्वाचनको माहौल शुरु भयो । राजनीतीक दलहरुबीचको तीव्र धु्रवीकरणलाई उनीहरुले राजनीतीक स्थायित्वको नारा बनाइदिए र जनताले पत्याइदिए पनि ।

निर्वाचनमार्फत सबैभन्दा ठूलो दल बनेको नेकपा आन्तरिक शक्तिसंघर्ष र सत्तालीप्साका कारण फुटको बाटोमा गयो तर यसपटक उ आफुमात्रै फुटेन त्यसको कम्पनले जनताको अभिमत बोकेको सर्वोच्च संस्था संसद पनि ढालिदियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्व सरकारलाई खबरदारी गर्ने भूमिकाबाट अलग भई संवैधानिक नियुक्तिहरुमा भाग खोज्ने, थोरै स्वार्थमा सत्ताधारीलाई दीर्घकालीन रुपमा गलत नजीर स्थापित गर्ने कर्म गर्न प्रेरित गर्यो भन्ने आवाज चर्कै सुनिन्छ ।

पार्टीभित्र यसलाई  “रोटी हराएको थाहा नपाउने गहुँका दाना गन्ने” प्रवृति भन्दै आलोचना भएकै हो तर नेतृत्व त्यसतर्फ ध्यान दिन चाहेन । यस्तै अराजनैतिक, मूल्यहीन तथा विकृतजन्य राजनीतीक संकारका कारण सिंगो राजनीतीतर्फ जनतामा वितृष्णा पैदा भएको छ ।

समुन्नत समाज र आर्थिक विकासका लागि व्यवस्था मात्रै कारक हो ?

माथि भूमिकामा उल्लेख भएजस्तो प्रवृति कायमै रहेसम्म कुनै पनि मुलुकको शासकीय व्यवस्था जनमुखी हुन कठिन हुन्छ । कुनै पनि देशको राजनैतिकि व्यवस्था कस्तो छ र कुन व्यवस्थाले के फाईदा वा बेफाईदा हुन्छ भन्ने कुराको उदाहरण हेर्न केवल दुई तीनओटा देशहरुको उदाहरण काफी छ । विश्वको सर्वशक्तिराष्ट संयुक्त राज्य अमेरीकामा पूर्णत प्रजातान्त्रिक व्यवस्था छ । यसको मतलब उनीहरु संसदयी व्यवस्थाकै राम्रो प्रयोग गरेर विकासको चरमचुलीमा पुगेका छन् ।

यता, हाम्रै छिमेकी देश चीन पुरै गणतान्त्रिक मुलुक हो चीनले पनि आफुलाई विश्वशक्ति राष्टका रुपमा चामत्कारिक विकास गरिरहेकै छ । शासन व्यवस्थाको तुलना गर्ने हो भने यी दुई देश ठीक विपरीत आदर्श र सिद्धान्तका आधारमा चलिरहेका छन् र पनि विकास लोभलाग्दो गरिरहेछन् ।

नेपालको सन्दर्भमा राणा, पन्चायत फेरी ०४६ पछि राजासहितको सुधारिएको प्रजातन्त्र “बहुदल” भनियो । त्यसको प्रयोग ठीक नभएको भनी तत्कालीन राजा ज्ञानेन्द्रले ०६१ माघ १९ मा प्रत्यक्ष शासन आफै लिए ।

प्रतिफलस्वरुप लोकतन्त्र गणतन्त्रमा आइपुग्दा आमनागरिकको औसत अवस्था कस्तो छ ?उनीहरुले के परिवर्तन पाए ?विकासका आकांक्षा कति पुरा भए ?सार्वभौमसत्ता र स्वतन्त्र मुलुकको स्वाभिमान आज कुन अवस्थामा छ ?

यी र यस्तै तमाम प्रश्न र दृष्टान्तले नै पुष्टि गर्छन कि विकासको गति लिन भनौँ वा जनजिवीकाका हरेक पक्षलाई सरल र सहज बनाउन व्यवस्था मात्रै कारक हैन बरु त्यसको प्रयोग कति इमान्दिारिताका साथ गरिन्छ त्यसले कारकको भूमिका निर्वाह गर्छ ।

अरु सबै नीतीलाई मार्गनिर्देश गर्ने भएकोले राजनीती नैतिक मूल्य र मान्यतामा आधारित भएर मात्र हुँदैन यो जनमूखी, दुरदर्शी र संकारी पनि हुनुपर्दछ तब मात्र कुनै पनि व्यवस्था समूचित ढङ्गले प्रयोगमा आउँछ ।

अन्यथा जतिपटक व्यवस्था परिवर्तन गरेपनि केही पात्र र सिमीत समुह मात्र लाभको भागीदार हुने प्रवुतिको पुनरावृत्ति भईरहन्छ । वा भनौँ गायक भण्डारीले भनेजस्तै कैयौँपटक हली परिवर्तन हुन्छन् तर गोरु जनतालाई नै बनाइरहन्छन् ।

पाण्डे जनता प्रावि छत्रकोट गुल्मीकी शिक्षक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस