गुल्मीको श्रृङ्गामा सवारी चेकजाँचमा कडाई,एक महिनामा मात्रै सवारी कारबाही बाट ७२ हजार राजस्व संकलन :
माधव ज्ञवाली ,फाल्गुन ०६ गुल्मी :
गुल्मीको श्रृङ्गामा ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको छ ।
पछिल्लो समय ट्राफिक नियम विपरीत सवारी साधन चलाउने क्रम बढ्न थालेपछि सो स्थानमा नियमित सवारी चेकिङ गर्दै आइरहेको ट्राफिक प्रहरी जवान कपिल गौतमले जानकारी दिनुभयो । एक महिनाको अन्तरालमा मात्र सवारी कारबाहीबाट जम्मा जम्मी ७२ हजार राजस्व संकलन गरिएको उहाँको भनाई रहेको छ ।
ट्राफिक नियम विपरीत सवारी चलाउने चालक तथा सवारी साधनलाई गरिएको कारबाहीबाट सो राजस्व संकलन गरिएको प्रहरी जवान गौतमले बताउनुभयो । अधिकांश सवारीचालक अनुमति पत्र लाइसेन्स नभई चलाउने, तीब्र गतिमा सवारी चलाउने,हेल्मेट प्रयोग नगरी चलाउने,इजाजत विना सवारी चलाउने तथा कागजपत्र नभएका सवारीसाधन कारवाहीमा पर्दै आएको उहाँले बताउनुभयो ।
यसरी ट्राफिक प्रहरीको विशेष सक्रियतामा गरिने नियमित चेकजाँचले दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुर्याउने उहाँको भनाई रहेको छ। ट्राफिक प्रहरी संगै सवारी चालकले पनि सचेतता पुर्वक सवारी चलाएमा दुर्घटना न्यूनीकरण गर्न सकिने पनि उहाँले बताउनुभयो ।