अर्घातोष लिफ्टिङ् खानेपानी आयोजनामा समितीको चरम ढिलासुस्ती : उपभोक्ता निराश

रेडियो श्रृङ्गेश्वर, असोज २९

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ८ मा चार वर्षअघि शुरु भएको एक खानेपानी आयोजना समितीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन सकेको छैन । उक्त निर्माणधीन आयोजनाको २०७३ सालमा निर्माण तथा उपभोक्ता समिति गठन भई ०७४ देखि काम शुरु भएको हो ।

अर्घातोष ४, ५ लिफ्टिङ् खानेपानी आयोजनाको काम सम्पन्न भई धारामा पानी आउने बेला घर्किएपनि समितीले आधारभूत नीतीगत काम समेत गर्न सकेको छैन । अर्घातोष बेतारीमा बेसिक ट्याङ्की बनाई त्यहाँबाट करिब २.५ किमि उत्तरपूर्वमा कोतनजिकै वितरण ट्याङ्की निमार्ण गर्ने योजना थियो । उक्त प्रयोजनका लागि लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको समपुरक अनुदानमा ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।

अहिले ती ठाउँमा ७५ हजार घनलिटरका दुइ ट्याङ्की निमार्ण भएका छन् तर, विद्युत्को काम बाँकी रहेको बाहाना देखाउँदै समितीले हाल बाँकी काममा रुचि देखाएको छैन । मोटर जडान गर्न र आयोजनाको समग्र विद्युत विकास तथा विस्तारका लागि भन्दै गत वर्ष गाउँपालिकाले उपलब्ध गराएको थप १३ लाख रुपैयाँ पनि खर्च भईसकेको समितीले जानकारी दिएको छ ।

समितीकाअनुसार जिल्ला खानेपानी कार्यालयबाट पनि करिब २२ लाख हाराहारी रकम प्राप्त भइसकेको छ ।
आयोजना शुरु गर्दा अर्घातोष साविक ४ र ५ का लागि लक्षित गरिएकोमा पछि ३ नं लाई पनि समेटेर उपभोक्ताको संख्या करिब ३०० पुर्याईएको अध्यक्ष राजेन्द्र पौडेलले बताउनुभयो ।

केमा अड्क्यो हलो ?
बेसिक ट्याङ्की निमार्ण भएको जग्गा स्थानीय यमलाल पौडेल, सुकदेव पौडेल र हालका समिती अध्यक्ष राजेन्द्र पौडेल समेतले आयोजनालाई दिनेगरी काम गरियो । स्थानीय भन्छन् हाल जग्गा पास गरी आयोजनाकै नाममा जग्गाधनी प्रमाणपत्र नभएका कारण विद्युत् प्राधिकरणले मिटर दिन नमिल्ने बताएको छ । समितीका अध्यक्ष राजेन्द्र पौडेलले जग्गा हस्तान्तरणमा समस्या नभई समितीले निणर्य गर्न नसक्दा काम अघि बढाउन ढिलो भएको प्रतिक्रिया दिनुभयो ।

तपाईँ आफै अध्यक्ष भएर किन बैठक बोलाएर निर्णय गराउन नसकेको भन्ने प्रश्नमा पौडेलले भन्नुभयो । “मैले सचिव जीलाई विगत ६ महिनादेखि बैठक बोलाउँ भनेको छु,”   समितीका अन्य सदस्यहरुतर्फ संकेत गर्दै अगाडि भन्नुभयो   “उहाँहरु बैठक बस्ने, सहयोग गर्ने कुरामा त्यति आउनुभएको छैन । मैले मात्रै चाहेर पनि त बैठक बस्न सक्ने कुरा भएन नि ।”   कतिपय सदस्यहरु कैयौँपटक खबर गर्दासमेत बैठकमा नआउने गरेकाले पनि समस्या भएको पौडेलको गुनासो थियो । तर समितीकै कतिपय सदस्यहरुले चाहिँ अध्यक्ष निकै निष्क्रिय भएको र नियतवस काममा ढिलाई गरिरहेको आरोप लगाएका छन् ।

बैठकको सूचनाबारे समिती सदस्य रामप्रसाद खनालसँग जिज्ञासा राख्दा उहाँले अध्यक्षको भनाईको ठाडै प्रतिवाद गर्नुभयो र भन्नुभयो,  “वहाँनै बैठक राख्ने संस्थागत निर्णय गर्ने कुरामा आउनुहुन्न, खाली ठेक्का र खरिदमा मात्रै आफुखुशी गर्ने अनि बिनामहत्वका विषयमा औपचारिकता पुरा गर्न बोलाउने गर्न त भएन नि ।”

स्थानीयका अनुसार ट्याङ्की बनेका छन्, पाईप आइसकेको छ, विद्युत् मोटर जडानको काम भईरहेको छ तर, समितीले कामको भ्याउ पाउन नसक्दा आयोजना लथालिङ्ग अवस्थामा छ । आयोजनाको शुरुवातमै स्थानीय चन्द्रमान श्रेष्ठको अध्यक्षतामा समिती गठन भएपनि उक्त समितीले काम गर्न नसकी हालको समिती गठन गरिएको थियो । समितीभित्रकै मतमतान्तरले गर्दा आयोजना अन्तिम चरणमा पुग्दासम्म मूहान दर्ताको प्रकृया समेत अघि बढेको छैन ।

के भन्छन् नियामक निकाय ?
यसबारे वडा कार्यालय मानीपोखरामा सम्पर्क गर्दा वडाले पनि समितीलाई पटक पटक समयमै काम सम्पन्न गर्न सचेत गराएको खुलेको छ । वडाअध्यक्ष राजकुमार श्रेष्ठले भन्नुभयो  “त्यहाँ हामीले पटक पटक काम छिटो गर्न भनिरहेका छौँ, मूहान दर्ताको औपचारिक प्रस्ताव आउनेबित्तिकै आवश्यक प्रक्रियाबमोजिम गाउँपालिका बाट प्रमाणपत्र जारी हुन्छ । त्यो प्रस्ताब ल्याउनुस् भनेका छौँ सायद आजभोलिमै केही आउला ।”

गत वर्षको दशैँमा नै घरघरमा पानी आउँछ भनेर वाचा गरेका वडाअध्यक्ष श्रेष्ठलाई पनि यसमा भएको ढिलाईले नैतिक समस्यामा पारेको देखिन्छ । आयोजना कहिले पुरा हुन्छ र कहिले पानी आउँछ भन्ने स्पष्ट जवाफ अझै पनि प्राप्त हुन सकेको छैन । काममा भएको ढिलाईले आमउपभोक्ता भने निराश छन् ।

 

Leave A Reply

Your email address will not be published.