वर्षाले बिगारेका अर्घाखाँचीको छत्रदेवका अधिकांस सडकको मर्मतकार्य शुरु

रेडियो श्रृङ्गेश्वर, असोज २८

वर्षाले बिगारेका अर्घाखाँचीको छत्रदेवका अधिकांस सडकको मर्मतकार्य शुरु भएको छ । यसपाली औसतभन्दा बढी भएको वर्षाले प्राय सडकका धेरै भागमा क्षति पुर्याएको छ । वर्षा सकिएलगत्तै दशैँको सम्मुखमा सडकहरु सोहोर्ने गरिएकोमा यसवर्ष मनसुन र दशैँ दुबै पछि धकेलिएकोले काम पनि ढिलो गरी शुरु भएको छ ।

गाउँपालिकाले यस कामका निम्ति प्रत्येक वडाका सडकहरुको कुल फैलावट, क्षतिको अवस्था लगायत मापदण्डका आधारमा सिलिङ् निर्धारण गरीदिएको छ । सूचना अधिकारी डिल्लीराज अर्यालले  “भन्नुभयो, वडाभित्रको कुल सडकको लम्बाई, त्यसमा भएको क्षतिको अवस्था, त्यहाँको भूगोल लगायतका विषयमा तोकिएको सिलिङ्भित्र रही वडाहरुबाट विनियोजन र टेण्डरसमेत भई काम भइरहेको अवस्था छ ।”
आठओटा वडाहरुमध्ये ७ नं. वडा कार्यालयले यस प्रयोजनका लागि अधिकतम १३ लाख रुपैयाँ विनियोजन गरेको छ, भने अन्य वडाहरुले औसत ९ लाख रुपैयाँ छुट्याएका छन् ।

६ नं. वडा कार्यालय ठूलापोखराले भने आधाभन्दा बढी काम सकिसकेको जनाएको छ । वडाअध्यक्ष कमल पौडेलले भन्नुभयो, ” यसका लागि कुल ९ लाख एक हजार रुपैयाँ विनियोजन भई ठेक्कापश्चात् आधाभन्दा बढी काम सम्पन्न भईसकेको छ । तीव्र रुपमा काम भईरहेको छ, छिट्टै सक्ने तयारीमा छौँ ।”

यता, ८ नं. वडा कार्यालयले भने भोलिदेखि मात्र काम शुरु गर्ने भएको छ । टेण्डर प्रक्रिया सकिएर समिती गठन भइसकेको भएपनि प्राविधिक कारणले १ २ दिन ढिला भएपनि भोलि बिहीबारदेखि काम शुरु हुने वडाअध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार ८ नं.वडाले पनि बाटो मर्मतका लागि ९ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सर्वसाधारणले भने वर्षाद् सकिएर दशैँ मुखैमा आउँदा समेत ढिलो गरी काम शुरु भएको र खाल्डाखुल्डीकै बीच यात्रा गर्न परेकोमा गुनासो व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.