जरिवाना मिनाहा भएपछि १७ नेपाली कामदार स्वदेश फर्किए

यूएई सरकारलाई जरिवाना तिर्न नसकेर रोकिएका १७ जना नेपाली श्रमिकलाई नेपाली दूतावासले आइतबार उद्धार गरी स्वदेश पठाएको छ ।

यूएईको फेल्क्सी फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीबाट जागिर गुमाएर बसेका ३ सय ५८ मध्ये १७ जना आवासीय भिसा समाप्त भएर लागेको जरिवाना मिनाहा भएपछि स्वदेश फर्किन पाएका हुन् ।

ती श्रमिकको जुलाई १२ देखि ‘ओभर स्टे’ बापत दैनिक जरिवाना थपिएको थियो । कम्पनीसँगको सम्झौताअनुसार तलब नपाएपछि उनीहरू गत चैतको पहिलो साता नै फर्किन टिकट काटिसकेका थिए । लकडाउन सुरु भएपछि उनीहरू स्वदेश फर्किन पाएका थिएनन् । सरकारले उद्धार उडानमार्फत स्वदेश पठाउने प्रबन्ध गरेपछि ती कम्पनीमा अलपत्र श्रमिकलाई पालैपालो पठाउन थालिएको थियो ।

पालो पर्खेर अन्तिम चरणमा आइपुगेका उनीहरूको भने ओभरस्टेबापतको जरिवाना लाग्न थालेको थियो । टिकट प्रबन्ध गरी गत अगस्ट १० मा विमानस्थल पुगेपछि यूएईको अध्यागमन विभागले जरिवाना रकम तिरेपछि मात्रै फर्किन पाइने भन्दै फिर्ता पठाइदिएको थियो ।

 

Leave A Reply

Your email address will not be published.