कुहिएको किरा भेटिएपछि ‘अमृत सुर्यमुखी’ तेल बिक्रि वितरणमा रोक

अमृत सुर्यमुखी तेलमा कुहिएको किरा र मुसाजस्तो वस्तु भेटिएको छ । त्रिबेणी ग्रपको अन्नपुर्ण भेजिटेवल प्रा.लि. लिपनीमाल ७ बारामा बनेको तेलको प्याकेटमा यस्तो भेटिएको हो ।

तेलको प्याकेटमा कुहिएको किरा र मुसाजस्तो वस्तु भेटिएपछि मेलम्ची नगरपलिकाले बिक्रि वितरणमा रोक लगाएको छ । आइतबार एक स्थानीयले नगरपालिकामा तेलको प्याकेटसहित उपस्थित भएपछि नगरपालिकाले थप छानविन गर्नका लागि विक्रिमा रोक लगाएको हो ।

यही बैशाख महिनामा उत्पादन भई बजारमा वितरण भएको व्याच नं. ५४ को अमृत सुर्यमुखी तेल स्थानीय बासीले प्रयोग गर्ने क्रममा तेलको प्याकेटभित्र मुसा जस्तै देखिने कुहिएको वस्तु र किरा समेत देखिएको भनी उक्त तेलको प्याक्रेट सहित यस नगरपालिकामा जानकारी प्राप्त भएको नगरपालिकाले विज्ञप्तीमार्फत जनाएको छ ।

‘आइतबार नगरपालिकामा बसेको बजार अनुगमन समितिको बैठकबाट अर्को व्यवस्था नभएसम्मको लागि उक्त अमृत सुर्यमुखी तेल ब्याच नं. ५४ को विकी वितरणमा रोक लगाउने निर्णय भएकोले छ’ विज्ञप्तीमा भनिएको छ, ‘उक्त अमृत सुर्यमुखी तेल व्याच नं. ५४ यस नगरपालिका क्षेत्रभित्र विक्री वितरण नगर्नु नगराउनु उपभोग समेत नगर्नु हुन आग्रह गर्दछौँ ।’

बेवास्ता गरी कसैले बेचविखन गरिएको पाइएमा उपभोक्ता हित संरक्षण ऐन बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यहाँबाट सेयर गर्नुहोस