लुम्बिनीमा विगतको तुलनामा सवारी दुर्घटनामा कमी

पुष ४, गुल्मी।

ट्राफिक प्रहरी लगायत सरोकारवालाहरूको सक्रियता बढेकाले लुम्बिनी प्रदेशमा विगतको तुलनामा सवारी दुर्घटनामा कमी आएको छ । प्रदेशको उद्योग, पर्यटन तथा यातायात व्यवस्था कार्यालयले सार्वजनिक गरेको त्रिवर्षीय तथ्यांकले यस्तो देखाएको हो ।

अघिल्ला दुई वर्षमा भन्दा आर्थिक वर्ष ०७९/८० मा दुर्घटना घट्दै गएको देखिन्छ । कार्यालयका अधिकृत टुकराज पाण्डेका अनुसार प्रदेशमा आर्थिक वर्ष ०७७/७८ मा सडक दुर्घटनामा परेर पाँच सय २६ जनाको मृत्यु भएको थियो भने ०७८/७९ मा पाँच सय ५१ जनाले ज्यान गुमाएका थिए । तर, आर्थिक वर्ष ०७९/८० मा भने यो संख्या चार सय ६२ मा झरेको छ ।

तथ्यांकअनुसार सवारी दुर्घटनाको संख्यामा पनि कमी आएको छ । ०७७/७८ मा एक हजार २११, ०७८/७९ मा एक हजार १६४ र ०७९/८० मा आठ सय ९२ वटा सवारी दुर्घटना भएको देखिन्छ ।

यस अवधिमा दुर्घटनामा परी क्रमशः एक हजार ८३, एक हजार एक सय २३ र सात सय ९९ जना गम्भीर घाइते भएका छन् भने तीनै आर्थिक वर्षमा गरी ८९ पशुचौपायाको मृत्यु भएको छ ।

यसैबिच, पछिल्ला तीन आर्थिक वर्षमा यातायातका साधन चलाउँदा नियम उल्लंघन गरेका कारण कारबाहीमा पर्नेहरूको संख्या बढ्नुका साथै राजस्वमा समेत वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *