पौष २, पाल्पा ।
बगनासकाली गाउँपालिका १ नं. वडा चिलाड्दी खेल मैदानमा आयोजना गरिएको पाल्पा महोत्सव २०८१ पुस ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र रुपमा आगाडि बढेको आयोजकले जनाएको छ ।
कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिका प्रवद्र्धक रहेको महोत्सवको उद्देश्य जिल्लाको पर्यटन प्रवद्र्धन, व्यापार एवम् स्थानीय कला संस्कृति तथा धार्मिक साँस्कृतिक महत्वलाई बढाउनु रहेको पाल्पा महोत्सवका संयोजक नारायण न्यौपानेले जानकारी दिनुभयो । उहाँले महोत्सवमा कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापारका करिब एक सय ५० स्टल रहनेछन् । महोत्सवमा फोटो ग्यालरी र स्थानीय कला संस्कृति झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेबाजा, लोपोन्मुख कुमाल, बोटेलगायतको कला संस्कृति प्रस्तुत गरिने संयोजक न्यौपानेले बताउनुभयो । महोत्सवलाई विगतका महोत्सव भन्दा फरक बनाउन र स्थानीयको अपनत्व हुने वातावरणका लागि सरोकारवाला संगको भेला गरीएको छ ।
पुस ९ गते उद्घाटन समारोहमा कल्वर एण्ड कन्ट्री विशेष कार्यक्रम संचालन गरिनेछ । मंञ्चलाई भाषणका पमा प्रयोग नहुने गरी हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति संगै स्थानीय कलाकार र कला केन्द्रहरुको प्रस्तुति रहनेछ । बगनासकाली डान्स आईडल मार्फत प्रतिभा पहिचान गरिनेछ आयोजकको भनाइ छ ।
महोत्सव स्थलमा स्टलका रुपमा रहेका होटल तथा रेष्टुरेन्टमा स्थानीय दुनाटपरीको उपयोगलाई प्राथमिकता दिइनेछ । महोत्सवमा स्थानीय किसानहरुबाट उत्पादित कृषि उत्पादनको प्रदर्शनी र कृषि उत्पादन शुलभ मूल्यमा खरिद विक्रीको व्यवस्था मिलाइनेछ । बगनासे साँचो, दुनाटपरी उद्योग, विद्यार्थीहरुबाट निर्मित शैक्षिक सामाग्री महोत्सवमा प्रदर्शनका लागि राख्ने तयारी गरिएको छ ।
महोत्सव अवधिभर करिव एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने र कुल ३ करोड रुपैंयाँको कारोबार हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले नाफा कमाउनका लागि गरिएको महोत्सव अन्य संस्थाले गरेको भन्दा फरक र सिर्जनशील तरिकाबाट गर्न आग्रह गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष कमलराज तिमिल्सिनाले महोत्सवले बगनासकालीसंगै जिल्लाको आर्थिक चलायमान हुनुका साथै पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।