नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका क्रममा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण छुटेका छन् ।
उच्च अदालत, पाटनले धरौटीमा छोड्ने आदेश दिएपछि आज ३० लाख धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खाणलाई १५ लाख धरौटी लिएर छोडेको थियो । त्यस लगत्तै कारागारबाट खटिएको प्रहरीले खाणलाई अख्तियारको जिम्मा लगाएको थियो ।
अख्तियारले भने साधारण तारेखमा रिहा गरेको हो।
नक्कली शरणार्थी प्रकरणमा जोडिएका खाणलाई २०८० वैशाख २७ मा प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको थियो । उनी पक्राउ परेको ७ महिनापछि थुनामुक्त भएका हुन।