आज विश्व मिर्गौला दिवस ,विभिन्न कार्यक्रमका साथ मनाइँदै

चैत्र १ , गुल्मी ।

आज विश्व मिर्गौला दिवस ।

‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम गरी बर्सेनि मार्च १४ गते यो दिवस मनाइँदै आएको छ ।

विश्वभर नै मिर्गौला रोगको प्रकोप बढिरहेको परिप्रेक्ष्यमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवस मनाइन्छ । यो वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ ।

विभिन्न संस्थाबाट विभिन्न कार्यक्रमसहित हुँदै आएको कार्यक्रम यसपटक भने अङ्ग प्रत्यारोपण समाज नेपाल र नेपाल प्रत्यारोपण सोसाइटी एउटै भएपछि पहिलो पटक संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको छ ।

यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुभवसहितका केही सुझाव दिएका छन् । दुई पटक मिर्गौला प्रत्यारोपण गरेका उनले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्नेमा जोड दिएका छन् । 

उनले भनेका छन्–  ‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब  मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ।  प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ।’ 

ओली थप भन्छन् -‘हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ। मिर्गौला जोगाउन हामी आफैँ सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *