बैशाख २९, गुल्मी ।
चन्द्रकोट गाउँपालिका गुल्मीमा अन्तर वडा स्तरीय शिक्षक कप (पुरुष तथा महिला) भलिवल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
चन्द्रकोट गाउँपालिका भित्रका विभिन्न शैक्षिक संस्था र शिक्षकहरु विच एकआपसमा एकता, मित्रता, सहकार्य तथा समन्वयको भावनालाई मजवुत बनाउने, शिक्षक खेल प्रतिभा पहिचान गर्ने, विद्यार्थीहरुमा खेल संस्कृतिको विकास गर्ने साथै खेलको माध्यमबाट शिक्षक प्रोत्साहन गरी शैक्षिक गुणस्तर समेत अभिवृद्धि गर्ने उद्देश्यले बैशाख हिजो र आज चन्द्रकोट गाउँपालिका अन्तर वडा स्तरीय शिक्षक कप (पुरुष तथा महिला) भलिवल प्रतियोगिताको आयोजना गरिएको थियो ।
कार्यक्रमको समापन समारोह गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षक, राष्ट्रसेवक कर्मचारी लगायतको उपस्थिति भएको थियो।प्रतियोगितात्मक खेलमा पुरुषतर्फ ७ समूह र महिलातर्फ ८ समूह गरी कुल १५ समूह बीच प्रतिस्पर्धा रहेको थियो ।
खेल प्रतियोगितामा पुरुषतर्फ वडा नं. ५ ग्वाघाको शिक्षक समूह विजेता र वडा नं. ४ शान्तिपुरको शिक्षक समुह उपविजेता भएका थिए भने महिलातर्फ वडा नं. १ दिब्रुङको शिक्षक समूह विजेता, वडा नं. ५ ग्वाघाको शिक्षक समुह उपविजेता भएका थिए ।विजेता तथा उपविजेता समूहहरुलाई नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै कार्यक्रममा पुरुष तथा महिलातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर तथा खेलाडीलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो।कार्यक्रमकै अवसरमा भएको शिक्षक कर्मचारीबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा बिजेता शिक्षक समूहलाई समेत शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।