
पौष २०/गुल्मी
श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट ४ श्रृङ्गा गुल्मीमा एकदिने शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा गठित शिक्षक अभिभावक संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ५,८ र १० का विद्यार्थीहरुको शैक्षिक उपलब्धि सम्बन्धि विविध छलफल एवं अन्तरक्रिया गरिएको हो।
कार्यक्रममा कक्षा ५,८ र १० का विद्यार्थीहरुको प्रथम त्रैमासिक परीक्षा र दोस्रो अर्धवार्षिक परिक्षाको नतिजा विश्लेषण साथै उनीहरुको बर्तमान अवस्था र शैक्षिक सुधारका लागि भावी योजना निर्माण गर्न विद्यार्थीका अभिभावक , विद्यार्थी, शिक्षक एवं सरोकारवालाहरु सङ्ग आवश्यक छलफल समेत गरिएको छ।
अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले पनि आफ्ना आफ्ना समस्या सङ्गै शैक्षिक उपलब्धि वृद्धिका लागि विद्यालयले गर्नुपर्ने सुधारका पक्षहरुलाई लिखित रुपमा सुझावको रुपमा प्रस्तुत गरेका थिए भने विद्यार्थीका अभिभावकहरुले पनि पारिवारिक समस्या सङ्गै अन्य विषयमा आफ्ना आफ्ना सुझावहरु कार्यक्रममा प्रस्तुत गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा धेरैजसो विद्यार्थीहरुले मोबाइल तथा ल्यापटप धेरै चलाउने गरेको र ती सामाग्रीको उचित ब्यवस्थापन गर्न नसकेको पाइएको छ। कार्यक्रममा उपस्थित सरोकारवालाहरुले अभिभावकले राखेका समस्याहरुको समाधानका विषयमा राय सुझाव दिएका थिए।
अन्तरक्रिया कार्यक्रममा बोल्दै विद्यालयका ब्यवस्थापन समिती अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र कंडेलले आफुहरु निर्वाचित भएर आएदेखि विद्यालयको भौतिक पक्षको समग्र विकासको लागि कुनैपनी कसुर बाकी नराखेको बताएका छन् ।कार्यक्रममा बोल्दै अध्यक्ष कंडेलले भने,” तपाईं शिक्षक तथा विद्यार्थीहरु मिलेर शैक्षिक गुणस्तर वृद्धि गर्नुहोस्, विद्यालयको भौतिक पक्ष एवं विभिन्न ब्यवस्थापकिय जिम्मेवारीमा हामी जस्तोसुकै परिस्थितिमा पनि खटेर लाग्नेछौँ। पठनपाठनमा कुनै पनि समस्या देखिए त्यसको समाधानमा हामी जसरी पनि लाग्नेछौँ।” विद्यालयको भौतिक पक्षलाई हेर्ने हो भने आफु अध्यक्षमा निर्वाचित भएर आएदेखी आफ्नो टिमले विद्यालयको गेट निर्माण, फुलबारी ब्यवस्थापन, पेटी तथा पर्खाल निर्माण गर्नेदेखी विद्यालय भित्तामा पेन्टिङ, हस्तलेखन लगायतका कामहरुको सुरुवात गरिसकेको अध्यक्ष कंडेलले बताए। विद्यालयमा ब्यवस्थित पठनपाठनको लागि केही कोठाहरु अपुग भएकोमा आवश्यक भवन निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसङ्ग आफू र आफ्नो टिम निरन्तर छलफल गरिरहेको र आफ्नो कार्यकालमा विद्यालयको समग्र भौतिक पक्षमा उल्लेखनीय सुधार ल्याउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक विकासचन्द्र खरेलले अभिभावक एवं विद्यार्थीहरुबाट आएका गुनासा एवं सुझावलाई मध्यनजर गर्दै आगामी दिनमा शिक्षकहरुसङ्ग छलफल गरि नयाँ ढङ्गबाट अघि बढ्ने बतएका छन् । उनले विद्यालयलाई यस् बर्ष पनि कक्षा १० को नतिजालाई गत बर्षको जस्तै निरंतरता दिने चुनौती रहेको बताउँदै सो नतिजा प्राप्तिका लागि सम्पुर्ण शिक्षक, विद्यार्थी, अभिभावक सङ्गै समग्र सरोकारवालाहरुको निरन्तर साथ सहयोग र मेहनत आवश्यक रहेको बताएका छन् । गत बर्ष त्यसै विद्यालयबाट कक्षा १० को परिक्षामा स्मृति कंडेलले ४ जिपिए ल्याएर नेपाल प्रथम हुन सफल भएकि थिइन् भने सम्पुर्ण विद्यार्थी उत्तिर्ण हुन सफल भएका थिए।
प्रधानाध्यापक खरेलले कक्षा ८ र ५ को परिक्षा पनि गाउँपालिका स्तरमा मुल्यांकन हुने भएकोले विद्यार्थीहरुलाई थप लगनशील भएर पठनपाठनमा सरिक हुन अनुरोध गरेका छन् भने पठनपाठनमा कुनै समस्या भए निर्धक्क भएर विषय शिक्षक,कक्षा शिक्षक एवं आफुलाई जानकारी गराउन पनि अनुरोध गरेका छन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष एवं शिक्षक अभिभावक संघ अध्यक्ष तारा कंडेलले अन्तरक्रिया कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद दिँदै विद्यालयको समग्र पक्षको विकासको लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताएकी छन् । अन्तरक्रिया कार्यक्रमको संचालन शिक्षक रमेश पन्थले गरेका थिए।
