रुरुक्षेत्र गाउपालिका ४ न. वडा कार्यालय द्वारा कृषकहरुलाई वोयर बाख्रा वितरण ।

माधब ज्ञवाली असार २४ गुल्मी :
जिल्लाको रुरुक्षेत्र गाउपालिका ४ न. वडा कार्यालय बलेटक्सार गुल्मीले कृषकहरुलाई वोयर जातका बाख्रा वितरण गरेको छ ।
आज एक कार्यक्रमका बिच १७ वटा वोयर जातका बाख्राहरु वितरण गरिएको हो । वडा कार्यालयले गाउपालिकाले दिएको निर्देशानुसार गत बर्ष २०७६ साल माघमा १५ दिनको म्याद राखी आवेदन माग गरेको थियो र त्यो अवधिमा जम्मा १७ जना कृषकहरुले मात्र आवेदन भरेकाले तिनै १७ जना कृषकहरुलाई बाख्रा वितरण गरिएको हो,जसमध्य करिब एक दर्जन महिला कृषकहरु हुनुहुन्छ भने अन्य पुरुष हुनुहुन्छ ।
किलोको रु.६०० पर्नेगरी ५०% अनुदानमा बाख्रा उपलब्ध गराइएको रुरुक्षेत्र गाउपालिका कृषि शाखा प्रमुख हिमलाल पाण्डेले जानकारी दिनुभयो । बाख्राको तौल १३ देखि २२ किलो सम्मको रहेकोमा कृषकहरुलाई वितरण गर्दा चिट्ठाको माध्यमबाट वितरण गरिएको हो ।
बाख्रा वितरण तथा पालन पोषण गर्ने सम्बन्धमा वडा कार्यालय र कृषकहरु बिच १० बुदे सम्झौता पनि भएको छ । सम्झौतामा पहिलो पक्ष भनिएको वडा कार्यालयले बाख्राको मुल्यको ५०% अनुदान उपलब्ध गराउने,दोस्रो पक्ष भनिएको कृषकले बाकी ५०% भुक्तान गर्नुपर्ने, बाख्रा उपलब्ध गराउनु पुर्व बिमा वडा कार्यालयले नै गरिदिने, कृषकले बाख्राको उचित पालनपोषण गर्नुपर्ने लगायतका बुदाहरु रहेका छन । वडा कार्यालयले बाख्रा वितरण गर्नुपुर्व बाख्राको बिमा गरिदिएको छ भने एक बर्षसम्मको सम्पुर्ण बिमा शुल्क पनि वडा कार्यालयले नै बेहोर्ने भएको छ ।
एक बर्षपछि भने बिमा नवीकरण वडाले गरिदिने छैन,कृषक आफैले गर्नुपर्नेछ।अनुदानमा वितरण गरिएका बाख्रा कारणबश मरेमा कृषकले बाख्राको मुल्यको ९०% क्षतिपूर्ति पाउनेछन् तर त्यसको लागि पनि मापदण्ड तोकिएको छ,जसको लागि मरेको बाख्राको वडा कार्यालयका पदाधिकारीको रहोवरमा मुचुल्का सङ्कलन गरि फोटो खिचेर मात्र नस्ट गर्नुपर्ने र वडा कार्यालय वा पशु शाखामा सम्पर्क गर्नुपर्ने कृषि शाखा प्रमुख हिमलाल पाण्डेले जानकारी गराउनुभयो ।
अनुदानमा उपलब्ध गराइएका वोयर बाख्राहरु कम्तिमा पनि एक बर्षसम्म कृषकले बिक्री गर्न नपाउने सम्झौतामा उल्लेख गरिएको छ । यदि कसैले एक बर्ष नपुग्दै बिक्री वितरण गरेमा विक्री मूल्य बराबरको रकम जरिवाना संबंधित कृषकले तिर्नुपर्नेछ,नया उत्पादित बाख्रा भने कृषकले स्वतस्फूर्त रुपमा बिक्रीवितरण गर्न पाउनेछन ।
कृषकले गरेको पालनपोषण ,उत्पादन ,आम्दानी इत्यादिलाई मुल्यांकन गरिने साथै नियमित अनुगमन गरिने गाउपालिका उपाध्यक्ष लक्ष्मी पन्थले जानकारी दिनुभयो ।

वडा अध्यक्ष फर्सुराम ज्ञवालीले सानो व्यवसायबाट सुरु गर्ने बाख्रापालक कृषकहरुलाई साङ्केतिक रुपमा बाटो देखाइदिने काम वडाले गरेको बताउनुभयो । उहाले आउदा दिनहरुमा बाख्राको सङ्ख्यामा वृद्धि गर्दै सफल ब्यवसायी बन्नको लागि शुभकामना समेत दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.